
जेठ २८ गते
रौतहट/ गरुडा (रौतहट), वडा नं. ६ पोठियाहीका कृषकहरूलाई लक्षित गर्दै गरुडा नगरपालिकाले डुबान नियन्त्रण तथा सिँचाइ सुविधाको विस्तारका लागि नहर निर्माण कार्य तीव्र रुपमा अघि बढाएको छ। वर्षायाममा डुबानको समस्याले बारम्बार प्रभावित हुँदै आएको खेतयोग्य जमिनलाई संरक्षण गर्ने उद्देश्यसहित नगरपालिकाले यो पहल थालेको हो।
किसानहरूको सुझाव तथा आवश्यकता अनुरूप दिपहीदेखि हुलाक राजमार्गसम्म JCB प्रयोग गरेर नाला निर्माण कार्य भइरहेको छ। यस अभियानले वर्षातमा खेत डुबानको जोखिम कम गर्नुका साथै सिँचाइको सुविधा सहज बनाउने विश्वास नगरपालिकाले लिएको छ।
नगरप्रमुख कन्थमनी प्रसाद जयसवालका अनुसार, “कृषकको आवाजलाई प्राथमिकतामा राखी गरुडा नगरपालिका कृषि अनुकूल पूर्वाधार निर्माणमा निरन्तर क्रियाशील छ।” उनले थपे, “डुबान नियन्त्रणसँगै उत्पादन वृद्धिमा पनि यसले महत्त्वपूर्ण योगदान पुर्याउनेछ।”
स्थानीय कृषकहरू पनि यो प्रयासबाट उत्साहित देखिएका छन्। उनीहरूले दीर्घकालीन समाधानको रुपमा नहर निर्माणलाई स्वागत गरेका छन् र यसले आफ्नो कृषि जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्।
नगरपालिकाले आगामी दिनमा पनि कृषिमैत्री योजना र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै किसानहरूका आवश्यकता अनुसार कार्य गर्न प्रतिबद्धता जनाएको छ।















