
रौतहट, १५ गते असार । रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिका वडा नं ५ महम्मदपुर टोलमा आज राष्ट्रिय धान दिवसको अवसरमा एक विशेष कार्यक्रमका धान रोपाइँ गरिएको छ।
श्री मनोकामना कृषि बिउ उत्पादन फार्मको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुख कन्थमनी प्रसाद जयसवाल स्वयं हिलोमय खेतमा ओर्लिएर धान रोप्दै कृषकहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्।
“देशको मेरुदण्ड समान किसान हाम्रो गौरव हुन्, उनीहरूकै श्रमले राष्ट्रको चुल्हो बल्छ,” मेयर जयसवालले भने, “गरुडा नगरपालिकाले किसानको श्रम र पसिनाको मूल्य बुझ्दै सधैं साथ दिनेछ।”
कार्यक्रममा उनले नगरका कृषकहरूलाई समयमै बीउ, मल, सिँचाइ तथा कृषि यन्त्रको व्यवस्था गर्न नगरपालिकाले काधमा काँध मिलाउँदै अग्रसर हुने प्रतिबद्धता जनाए। साथै, उनले किसानको आत्मसम्मान, सशक्तीकरण र समृद्धिको मार्गमा गरुडा नगरपालिका दृढतापूर्वक समर्पित रहेको उल्लेख गरे।
धान दिवसजस्तो राष्ट्रिय अभियानमा स्थानीय सरकारको सक्रिय सहभागिता र नेतृत्वले कृषिमा यथार्थपरक सहयोग पुग्ने विश्वास कृषकहरूले व्यक्त गरेका छन्।















