
रौतहट ।
रौतहटको ईशनाथ नगरपालिकाले अत्यधिक चिसो र शीतलहर बढ्दै गएपछि नगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयहरूमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार मिति २०८२ पुस १६ गतेदेखि पुस १८ गतेसम्म नगरअन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा बिदा रहनेछ। बिदा सामुदायिक विद्यालय (मदरसा समेत) तथा संस्थागत (निजी) विद्यालयहरूमा लागू हुने जनाइएको छ।
विगत केही दिनदेखि तराई क्षेत्रमा बाक्लो हुस्सु, शीतलहर र अत्यधिक जाडोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने गरी मिलाइएको पनि सूचनामा उल्लेख छ।
नगर शिक्षा अधिकारी नन्दकिशोर गुप्ताद्वारा हस्ताक्षरित सूचनामा जाडोका कारण विशेषगरी बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न यो कदम चालिएको उल्लेख गरिएको छ। पछिल्लो समय तराईका विभिन्न जिल्लाहरूमा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ।














