सर्लाही, साउन ३ — सर्लाही प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै कौडेना गाउँपालिका–१ सुखचैनास्थित एक घरबाट ४ क्विन्टल १९ केजी ९३ ग्राम गाँजा बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलको नेतृत्वमा खटिएको टोलीले महादेव राउतको घरमा छापा मारेको थियो। घरका विभिन्न कोठाबाट ठूलो परिमाणमा गाँजा फेला परेपछि घरधनी महादेव राउत र २६ वर्षीय राहुल राउतलाई पक्राउ गरिएको हो।

प्रहरीले उक्त घरबाट गाँजासँगै चार थान डिजिटल नापतौल मेसिन र एक थान सानो तराजु समेत बरामद गरेको जनाएको छ।

बरामद गरिएको गाँजा तथा अन्य सामग्री जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0