
रौतहट । रौतहटको परोहा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज विशेष समारोहबीच पूजापाठसहित भव्य रूपमा समुद्घाटन गरिएको छ।
करिब १३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन कार्यक्रममा नगर प्रमुख शेख वकिल, नगर उपप्रमुख सुगन्धी गिरी, वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, इन्जिनियर दीपेन्द्र यादव, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
नवनिर्मित प्रशासनिक भवन सञ्चालनमा आएसँगै नगरपालिकाबाट प्रवाह हुने सेवा थप व्यवस्थित, प्रभावकारी, पारदर्शी तथा सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ।
नगर प्रमुख शेख वकिलले नयाँ भवन सञ्चालनसँगै प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी हुने र नगरवासीले छिटो, सरल तथा गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी वक्ताहरूले नवनिर्मित प्रशासनिक भवनलाई परोहा नगरपालिकाको विकास, सुशासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाहतर्फको महत्वपूर्ण उपलब्धि भएको बताएका थिए।
परोहा नगरपालिकाको प्रशासनिक केन्द्र लौकाहामा रहेको छ। नयाँ भवन सञ्चालनमा आएसँगै नगरवासीलाई आधुनिक पूर्वाधारसहितको सहज र गुणस्तरीय सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।















