काठमाडौं । आउँदो वर्ष हुने हज यात्राका लागि नेपालबाट पर्याप्त आवेदन नै परेको छैन । १२ सय जनाको कोटा अनुसारको संख्या नपुग्ने देखिएपछि नेपाल हज समितिले हज यात्राको आवेदन दिने म्याद थपेको छ ।

हज समितिका अनुसार सन् २०२४ मा हजयात्रा जान असोज र कार्तिकसम्ममा चार सय पचास जनाको मात्रै आवेदन परेको छ । साउन ३० गते दुई महिनाको म्याद दिँदै समितिले हज यात्राका लागि आवेदन दिन सूचना प्रकाशित गरेको थियो ।

साउदी अरबले नेपालबाट १२ सय जना हज यात्रीलाई स्वीकृति दिने जनाएको छ। मागे जति आवेदन नपरेपछि अब मंसिर १० गतेसम्म म्याद थप गरिएको छ ।

यस वर्ष हज यात्राका लागि १२ सय जनाको संख्या स्वीकृत भएकोमा ११ सय ७५ वटा निवेदन परेको थियो ।

सरकारले हज यात्राका लागि गोरखापत्रमा निकालेको सूचना आम मुस्लिम समुदायसम्म नपुगेकोले पनि कम आवेदन परेको हज समितिकै पदाधिकारीको बुझाइ छ । अघिल्लो हज यात्रा सकिए लगत्तै यसपटक अर्को वर्षको तयारी सुरु हुनुलाई पनि आवेदन कम पर्नुको कारण मानिएको छ ।

एक जना हज यात्रामा जाँदा झण्डै पाँच लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्छ । यस वर्ष ४५ दिने हज यात्राका लागि प्रत्येक यात्रुले चार लाख ७० हजार रुपैयाँ बुझाएका थिए । साउदी अरब जाने टिकट, खानपिन र बसाइ बापत त्यो पैसा खर्च हुन्छ । तर खर्च पारदर्शी नभएको, यात्रा व्यवस्थापनमा त्रुटि भएको भन्दै वर्षैपिच्छे आलोचना पनि हुने गरेको छ । त्यसो त नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई सरकारी गाडी चढ्न दिएको आरोपमा हज समितिका अध्यक्ष मकबुल मियाँ अहिले थुनामै छन् ।

इस्लाम धर्मावलम्बीले साउदी अरबको मक्का, मदिना पुगेर तीर्थयात्रा गर्नुलाई हज यात्रा भनिन्छ । नेपालबाट २०१२ सालदेखि औपचारिक रुपमा हज यात्रामा जान थालिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0