
रौतहटको गरुडा नगरपालिका वडा न ६ पोठियाहीमा बहुप्रतीक्षित नाला निर्माण कार्यको शिलान्यास गरिएको छ। नगरपालिकाको चालु आर्थिक वर्षको योजना अन्तर्गत निर्माण गरिन लागेको १३१ मिटर लम्बाइको उक्त नाला नगरस्तरीय बजेटमार्फत निर्माण हुने भएको हो।

शिलान्यास कार्यक्रम गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद जयसवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कुल लागत ६ लाख ७५ हजार रुपैयाँ रहेको उक्त आयोजना ढल निकास, सरसफाइ तथा वातावरणीय सुधारमा टेवा पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जयसवालले स्थानीय बासिन्दाहरूको दीर्घकालीन मागअनुसार यो आयोजना अघि बढाइएको जानकारी दिए। उनले भने, “जनस्वास्थ्यको सुरक्षासँगै नगरको दिगो विकासका लागि पूर्वाधार निर्माण हाम्रो पहिलो प्राथमिकता हो।”
उनले गरुडा नगरलाई समुन्नत, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यसहित यस्ता आयोजनाहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
शिलान्यास कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले नगरपालिका तथा जनप्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै वर्षौँदेखिको जल जमाव र ढल व्यवस्थापनको समस्या समाधान हुने आशा व्यक्त गरे।
नगरपालिकाले अघि सारेको यो पहलले स्थानीयस्तरमै सीमित नरही, नगरको समग्र स्वरूपमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।















