
गरुडा, रौतहट ।
तराई क्षेत्रमा शीतलहर र अत्यधिक चिसोले जनजीवन कष्टकर बन्दै गएपछि गरुडा नगरपालिकाले नगरबासीको सुरक्षालाई ध्यानमा राख्दै दाउरा वितरण कार्यक्रम सञ्चालन गरेको छ। नगर प्रमुख श्री कन्थमनी प्रसाद जयसवालको नेतृत्वमा नगरका विभिन्न स्थानमा आगो ताप्नका लागि दाउरा वितरण गरिएको हो।
लगातार दुई साताभन्दा बढी समयदेखि बाक्लो हुस्सु–कुहिरो र चिसो हावाका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न वर्ग सबैभन्दा बढी प्रभावित बनेका छन्। सो अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले तत्काल राहतस्वरूप यो कार्यक्रम अघि सारेको जनाएको छ।
नगर प्रमुख जयसवाल स्वयं नगरका विभिन्न वडामा पुगेर चौक–चौतारा, मठ–मन्दिर, प्रहरी चौकी तथा अन्य सार्वजनिक स्थलहरूमा आगो बाल्नका लागि दाउरा वितरण गर्नुभएको नगरपालिकाले जानकारी दिएको छ।
नगर प्रमुख जयसवालले गरुडा नगरपालिकाले यस प्रकारको राहत कार्यक्रम प्रत्येक वर्ष निरन्तर रूपमा सञ्चालन गर्दै आएको उल्लेख गर्दै भन्नुभयो, “बढ्दो चिसोका कारण कुनै पनि नगरबासीले दुःख भोग्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो। आवश्यकता अनुसार थप राहत सामग्री पनि वितरण गरिनेछ।”
नगरपालिकाको यस मानवीय तथा सराहनीय पहलप्रति स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गर्दै नगर सरकारप्रति विश्वास थपिएको प्रतिक्रिया दिएका छन्।















