
गौर, रौतहट — गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले आफ्नो जन्मदिनलाई सेवामुखी बनाउँदै करिब ५ सय गरिब तथा विपन्न परिवारलाई चादर वितरण गर्नुभएको छ। जाडो मौसमबाट प्रभावित असहाय नागरिकलाई न्यानो उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको हो।

नगरपालिका वडा नम्बर ५ मा आयोजित कार्यक्रममा मेयर साहले व्यक्तिगत पहलमै चादर वितरण गर्नुभएको थियो। चिसोका कारण दैनिक जीवन कष्टकर बनेका परिवारलाई राहत पुगोस् भन्ने हेतुले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो।
“जन्मदिन व्यक्तिगत खुसीमा सीमित नराखी समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा लिएको हुँ,” मेयर साहले भन्नुभयो। आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले मेयरको पहलप्रति आभार व्यक्त गर्दै चादरले जाडो छल्न ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्। सामाजिक संवेदनशीलता देखाउँदै गरिएको यो कार्यलाई नगरवासीहरूले उदाहरणीय कदमका रूपमा लिएका छन्।















