
रौतहट, असार ११ – रौतहटको ईशनाथ नगरपालिकाको १३औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु. ५२ करोड ३० लाख ७० हजार बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ।
नगरसभाको अध्यक्षता नगर प्रमुख कौशल्या देवीले गर्नुभएको थियो भने उपप्रमुख मो. प्रवेज आलम तथा सभा सचिव एवं प्रमुख प्रशासकीय अधिकृत मो. नवाज हुसैनको विशेष भूमिका रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. रामस्वरुप सिन्हा सहभागी हुनुभएको थियो।
नगरसभामा नगरपालिकाभित्रका विभिन्न वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, बुद्धिजीवी, समाजसेवी, विकासप्रेमी व्यक्तित्व तथा युवा नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सभामा आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ तथा जनसेवाका क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिइयो।
नगरपालिकाले सुशासन, पारदर्शिता तथा प्रभावकारी सेवा प्रवाहमार्फत नगरको समग्र विकासलाई तीव्रता दिने लक्ष्यसहित नीति तथा बजेट कार्यान्वयन गरिने जनाएको छ। साथै, प्रस्तुत नीति तथा बजेटमाथि छलफल गरी नगरसभाले आवश्यक सुझावसहित पारित गर्ने विषयमा समेत व्यापक छलफल भएको बताइएको छ।















