
रौतहट, असार १६ – लामो समयदेखि रोकिएको गौर नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्य अन्ततः सुरु भएको छ। सोमबार आयोजित एक औपचारिक समारोहबीच नगरप्रमुख शम्भु साह ले ३ तले आधुनिक प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो।
नगरपालिकाका अनुसार भवन निर्माणका लागि करिब ५ करोड ९६ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। ई–बिडिङ प्रक्रियामार्फत बंश–ओम–आरएनएस जेभी ले ३ करोड ७१ लाख ३० हजार ६० रुपैयाँ (मूल्य अभिवृद्धि कर बाहेक) मा ठेक्का प्राप्त गरेको थियो। तर ठेक्का प्रक्रियाविरुद्ध अदालतमा मुद्दा परेपछि निर्माण कार्य लामो समयसम्म रोकिएको थियो।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले असार ८ गते फैसला गरेपछि असार ११ गते निर्माण सम्झौता भएको हो। सम्झौताअनुसार भवन निर्माण कार्य २०८५ असार १० गतेभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भु साहले विभिन्न कानुनी तथा प्रशासनिक अवरोध पार गर्दै निर्माण कार्य सुरु गर्न पाउँदा खुशी लागेको बताउनुभयो। पुरानो भवन साँघुरो र सेवाप्रवाहका लागि असहज भएकाले नगरपालिकाकै दक्षिणतर्फ रहेको जग्गामा आधुनिक भवन निर्माण भएपछि नागरिकलाई अझ प्रभावकारी सेवा दिन सहज हुने उहाँको भनाइ थियो।
उहाँले आफ्नो कार्यकालमा कृषि तथा पशु सेवा भवन, स्वास्थ्य भवन, कोल्ड स्टोर, सामुदायिक भवन, सडक, नाला तथा शैक्षिक सुधारलगायत विभिन्न विकास निर्माणका काम सम्पन्न गरिएको दाबी गर्दै विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।
शिलान्यास कार्यक्रममा वडा अध्यक्षहरू शिवशंकर यादव, अवधविहारी साह, संजय गिरी, अर्जुन सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, स्थानीय समाजसेवी, कर्मचारी तथा नगरवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।















