रौतहट, १७ भदौ । रौतहटको देवाही गोनाही नगरपालिका–३, गोठटोल निवासी २२ वर्षीय रौनक राज पटेलको घरमा बस्दै आएकी १८ वर्षीया सुमेदी कुमारी पटेल मृत अवस्थामा फेला परेकी छन्। घटनापछि मृतक पक्षले युवतीको हत्या गरी आत्महत्या जस्तो देखाउन खोजिएको गम्भीर आरोप लगाएको छ।

मृतक सुमेदी गरुडा नगरपालिका–७, पिपरिया निवासी रहेको बताइएको छ।
मृतकका बुवा लालबाबु पटेलका अनुसार करिब दुई महिनाअघि रौनक राज पटेलले प्रेम सम्बन्धपछि उनकी छोरीलाई परिवारको सहमति बिना आफ्नो घरमा लगेर राखेका थिए। प्रारम्भिक दिनहरूमा अवस्था सामान्य देखिए पनि पछि रौनक पटेल, उनका बुवा सुभाष पटेल तथा परिवारका अन्य सदस्यले दाइजोको रूपमा ६ भर सुन, एउटा मोटरसाइकल, नगद रकम तथा अन्य सामग्री माग गर्दै सुमेदीमाथि दबाब दिन थालेको मृतक पक्षको आरोप छ।

परिवारले दाइजो दिन अस्वीकार गरेपछि सुमेदीमाथि मानसिक यातना, कुटपिट, दुर्व्यवहार तथा घरेलु हिंसा बढ्दै गएको मृतक पक्षको दाबी छ। मृतकका बुवा लालबाबु पटेलले छोरीले आफ्नो वैवाहिक जीवन जोगाउन र परिवारलाई थप तनाव नदिन धेरै कुरा सहेर बसेको बताएका छन्।

लालबाबु पटेलका अनुसार आज बिहान करिब साढे ४ बजे फोनमार्फत छोरीले आत्महत्या गरेको जानकारी दिइएको थियो। तर घटनास्थितिको अवस्था, विगतदेखि भइरहेको भनिएको दाइजोको दबाब तथा पारिवारिक यातनाका कारण आफूलाई छोरीको हत्या गरी फासो लगाएर आत्महत्या जस्तो देखाउने प्रयास गरिएको आशंका लागेको उनले बताएका छन्।
मृतक पक्षले यसअघि पनि रौनक पटेलकी बहिनीले फोनमार्फत दाइजो नदिए परिणाम गम्भीर हुने भन्दै धम्की दिएको दाबी गरेको छ। उक्त धम्की र पछिल्ला घटनाक्रमले परिवारको आशंका थप बलियो भएको उनीहरूको भनाइ छ।

घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले निष्पक्ष र गहिरो अनुसन्धानको माग गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरेका छन्।
हाल सुमेदी कुमारी पटेलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको बताइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानको अन्तिम निष्कर्षपछि मात्र स्पष्ट हुने जनाइएको छ।

मृतक पक्षले घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानुनको दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकायसँग माग गरेको छ।
नोट: मृतक पक्षले लगाएका आरोप अनुसन्धानबाट पुष्टि हुन बाँकी छन्। घटनाको वास्तविक कारण प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टपछि स्पष्ट हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0