
रौतहट, असोज १६ । रौतहटको बौधिमाई नगरपालिका–७ स्थित बंकुल भन्सार पछाडिको धानबारी क्षेत्रबाट सशस्त्र प्रहरीले मदिरामा प्रयोग हुने १ लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी सरमुजवाका सशस्त्र प्रहरी निरीक्षक अचुत सुवेदीको कमाण्डमा खटिएको गस्ती टोलीले शुक्रबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त स्टिकर बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार दुई जना व्यक्तिले कार्टुनमा टाउकोमा बोकेर स्टिकर नेपालतर्फ ल्याउँदै गरेका थिए। सुरक्षाकर्मीलाई देखेपछि उनीहरूले सामान छाडेर भारततर्फ फरार भएका थिए।
बरामद स्टिकर ५० यूपी, १८० एमएल क्षमताका मदिराका बोतलमा टाँस गर्न प्रयोग हुने किसिमका रहेका छन्। ती स्टिकर ६ रोलमा रहेको र जम्मा संख्या १ लाख २० हजार रहेको प्रहरीले जनाएको छ।
गौर भन्सार कार्यालयसँग गरिएको समन्वयअनुसार आर्थिक ऐनमा तोकिएको दरबमोजिम ५० यूपी १८० एमएल मदिरामा प्रति स्टिकर ८८ रुपैयाँ २० पैसा अन्तःशुल्क लाग्ने बताइएको छ। बरामद सबै स्टिकर अवैध रूपमा मदिराका बोतलमा प्रयोग भएको भए राज्यलाई करिब १ करोड ५ लाख ८४ हजार रुपैयाँ बराबरको राजस्व नोक्सानी हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
बरामद स्टिकर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सामान छाडेर भारततर्फ फरार भएका व्यक्तिहरूको खोजीका लागि भारतीय समकक्षी एसएसबीसँग समेत समन्वय भइरहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका एसपी चेतराज जोशीले जानकारी दिनुभएको छ।















