
रौतहट । रौतहटको मौलापुर नगरपालिका–७, सगैयाका बैधनाथ साह कानुका २२ वर्षीय छोरा अभिषेक गुप्ताको हिन्दु परम्पराअनुसार आज अन्तिम संस्कार गरिएको छ।
श्री शेरगण कार्यालय, रसुवामा कार्यरत सैनिक जवान गुप्ता गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेपछि परिवारले हिन्दु परम्पराअनुसार कुशको शव बनाएर असोज १७ गते अन्तिम दाहसंस्कार गरेको हो।
छोराको अवस्था लामो समयसम्म अज्ञात रहेपछि परिवारजनले भारी मनका साथ धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्नुपरेको हो। २२ वर्षकै उमेरमा सैनिक सेवामा रहेका अभिषेकको यसरी बेपत्ता भई अन्तिम संस्कार गर्नुपर्दा सगैया गाउँ शोकमा डुबेको छ।
परिवारजन, आफन्त तथा स्थानीयवासीले भावुक हुँदै उनलाई अन्तिम श्रद्धाञ्जली दिएका छन्। अभिषेकको निधनले परिवारमा अपूरणीय क्षति पुगेको छ।















