
काठमाडौं । सुनसरीलगायत पूर्वी जिल्लामा हालै घटेका संवेदनशील तथा दुःखद घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपाले जारी गरेको विज्ञप्तिमा घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
पार्टीले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने स्पष्ट गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौँदेखिको सामाजिक सद्भावलाई कमजोर बनाउने गतिविधि नगर्न सबै पक्षलाई अपिल गरेको छ।
रास्वपाले संवेदनशील अवस्थामा उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन नागरिक, राजनीतिक दल, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षलाई आग्रह गरेको छ। साथै शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न तथा परिस्थितिलाई सामान्य बनाउन सरकार र स्थानीय प्रशासनसँग सहजीकरणमा रहने जनाएको छ।
घटनाको निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई उचित न्याय र राहत उपलब्ध गराउन पनि रास्वपाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
रास्वपा अध्यक्ष रवि लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीले शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा सधैँ अडिग रहने उल्लेख गर्दै परिस्थितिलाई सामान्य बनाउन आवश्यक सकारात्मक भूमिका निर्वाह गर्न निरन्तर छलफलमा रहेको जनाइएको छ।















