काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनालाई लिएर उत्पन्न विवाद समाधान गर्न सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, गृह तथा उद्योग मन्त्रालयका प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको गहन छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमति जुटेसँगै नेपाल चिकित्सक संघले आफ्ना आन्दोलनका सबै विरोध कार्यक्रम तत्कालका लागि स्थगित गर्दै देशभरका नियमित स्वास्थ्य सेवा सुचारु गर्ने निर्णय गरेको छ।
वार्ताका क्रममा सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ लाई पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनका प्रावधानलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने सहमति समेत भएको छ।
त्यस्तै, स्वास्थ्य संस्थामा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीमाथि कडा कानुनी कारबाही अघि बढाउन सम्बन्धित मन्त्रालयबीच प्रभावकारी समन्वय गर्ने सहमति भएको छ।

स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्था थप चुस्त बनाउन नेपाल चिकित्सक संघको समेत सहभागितामा विशेष कार्यदल गठन गरिने भएको छ। उक्त कार्यदलले स्वास्थ्य संस्थाको सुरक्षा नीतिको कार्यान्वयन तथा त्यसको प्रगतिको नियमित समीक्षा गर्नेछ।
पाँचबुँदे सहमतिपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले गर्दै आएको आन्दोलन स्थगित भएसँगै देशभरका स्वास्थ्य संस्थामा नियमित सेवा पुनः सञ्चालन हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0