
रौतहट । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर गाउँमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ।
शुक्रबार बिहान स्थानीय ४५ वर्षीया रेनु देवी जयसवालको घाँटीमा धारिलो हतियार (खुकुरी) प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही स्थायी घर भई हाल गुजरा–५ हरिहरपुरमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनु देवी जयसवालमाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि आक्रोशित स्थानीयवासीले आरोपी उपेन्द्र साह कलवारलाई नियन्त्रणमा लिएर कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए। स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका उनलाई चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रालिमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डीएसपी बसन्त गौतमले जानकारी दिनुभयो।
डीएसपी गौतमका अनुसार घाइते उपेन्द्रको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि वीरगञ्ज पठाइएको हो। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट प्रहरी निरीक्षक राजेश कुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।















