रौतहट । नेपालको रौतहटबाट भारतको देवघर हुँदै राजगीरतर्फ जाँदै गरेको बोलबम तीर्थयात्री बोकेको बस भारतको झारखण्डस्थित कोडरमा जिल्लामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन्।

शुक्रबार बिहान सतगावाँ थाना क्षेत्रको पोखरडीहा मोड नजिक सडक किनारमा रोकिराखेको ट्रकको पछाडिको भागमा तीर्थयात्री बोकेको बस ठोक्किएको हो। दुर्घटनामा १० वर्षीय शिवम् कुमार, ६० वर्षीया सुन्दर बाला र ६० वर्षीय नवल किशोरको मृत्यु भएको जनाइएको छ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि सदर अस्पताल पठाइएको जनाइएको छ।

प्राप्त विवरणअनुसार बस करिब चार दिनअघि रौतहटबाट भारतको देवघर गएको थियो। बाबा वैद्यनाथको दर्शन सकेर शुक्रबार बिहान देवघरबाट बिहारको राजगीरतर्फ जाने क्रममा दुर्घटना भएको हो। बसमा करिब ४५ जना तीर्थयात्री सवार रहेको बताइएको छ।
घाइते यात्रुहरूका अनुसार रातभर बस चलाएका कारण चालकलाई निद्रा लागेपछि बस अनियन्त्रित भएर रोकिराखेको ट्रकमा ठोक्किएको प्रारम्भिक जानकारी छ। ठक्करपछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो भने केही यात्रु बसभित्रै च्यापिएका थिए।

दुर्घटनाको ठूलो आवाज सुनेपछि स्थानीयवासी घटनास्थलमा पुगेर उद्धार सुरु गरेका थिए। सतगावाँ प्रहरी पनि तत्काल घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा च्यापिएका यात्रुहरूको उद्धार गरेको थियो।

सतगावाँ थाना प्रमुख बब्लु सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा चालकलाई निद्रा लागेका कारण दुर्घटना भएको देखिएको छ।

यद्यपि, दुर्घटनामा परेको बस र तीर्थयात्रीहरू रौतहटको कुन स्थानीय तह वा कुन गाउँ/ठाउँका हुन् भन्ने विषयमा विस्तृत विवरण अझै स्पष्ट हुन बाँकी रहेको देखिन्छ। रौतहटवासी तथा सम्बन्धित परिवारजनको जानकारीका लागि सबैको ध्यानाकर्षण होस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0